धादिङ, कार्तिक २५, २०८२
सिद्धलेक गाउँपालिका वडा नं. १ ले स्थानीय स्तरमा सडक निर्माणका लागि औपचारिक सिफारिस गरेको छ। बैरेनी बर्वोटे टोल सुधार तथा विकास समितिको पहलमा गरिएको यो सिफारिस गजुरीस्थित सडक डिभिजन कार्यालयलाई पठाइएको हो।
वडा कार्यालयद्वारा जारी पत्रमा उल्लेख गरिएअनुसार, बैरेनी बजारदेखि मृगुदीखोला सम्मको प्रवेशद्वार क्षेत्रअन्तर्गत पर्ने सडकमा जेब्राक्रस निर्माणको लागि सिफारिस गरिएको हो। समितिका अध्यक्ष कृष्णप्रसाद लम्सालको अगुवाइमा गरिएको अनुरोधपछि वडा कार्यालयले आवश्यक प्रशासनिक प्रक्रिया पूरा गर्दै सिफारिस पठाएको हो।
वडा अध्यक्ष पेम्बा वाङ्द्याल लामाद्वारा हस्ताक्षरित सिफारिस पत्रमा सडकमा जेब्राक्रस निर्माणको कार्य छिटो सुरु गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ। उनले भने,
“स्थानीय बासिन्दाको मागअनुसार विकासका कामहरूलाई प्राथमिकता दिइरहेका छौँ। सडक निर्माण सम्पन्न भएपछि यातायात सुगम हुने र स्थानीय जीवनस्तरमा सुधार आउने विश्वास लिएका छौँ।”
बैरेनी बर्वोटे टोल सुधार तथा विकास समितिले हालसम्म टोल विकास, सरसफाइ, र पूर्वाधार सुधारका क्षेत्रमा सक्रिय रूपमा काम गर्दै आएको छ। समितिले आगामी दिनमा अन्य भौतिक संरचना विकासका लागि पनि निरन्तर पहल गर्ने जनाएको छ।